नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री भएका गगन थापासमक्ष यतिबेला दुई चुनौती छन् - आफूले निर्वाचन जितेर आउने र पार्टीलाई पनि जिताउने । २०७४ को चुनावमा महामन्त्री नहुँदा पनि थापा पार्टीका पक्षमा मतदाता आकर्षित गर्न सबैजसो जिल्लामा पुगेका थिए। अहिले त नेतृत्वमै छन्।त्यसैले सकेसम्म हरेक क्षेत्रमा पुग्नुपर्ने बाध्यतामा छन् उनी । पार्टीको बैठक, असन्तुष्ट पक्षलाई मनाउनुपर्ने अवस्था, मतदातालाई रिझाउने मुद्दा, मिडियासँगको अन्तरक्रिया आदि कारण उनलाई अहिले भ्याइनभ्याइ छ।
मंसीर ४ मा हुने निर्वाचनमा उनी पुरानै क्षेत्र अर्थात् काठमाडौँ निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको लागि मैदानमा छन् । २०७० र २०७४ को सोही क्षेत्रबाट चुनाव जितेका थापा ह्याट्रिक गरेर मुलुककै कार्यकारी हुने तयारीमा छन् । चुनावमा काङ्ग्रेसले लिने रणनीति, आफ्नो क्षेत्रका मतदातासँग प्रस्तुत हुने तयारी तथा कार्यकारी बन्ने गृहकार्यलगायतका विषयमा गरिएको संवाद :
निर्वाचनमा तपाईंले जित्ने र पार्टीलाई पनि जिताउने तयारी कसरी अघि बढ्दैछ?
पार्टी महामन्त्रीको जिम्मेवारीमा नरहँदा पनि अघिल्लोपटकको निर्वाचन अभियानमा अधिकांश जिल्लामा पुगेको थिएँ। अभियान पहिलेभन्दा अझ प्रभावकारी रूपमा गर्नुपर्ने अवस्था छ। विगतमा जस्तै अहिले पनि निर्वाचन अभियानलाई सकेसम्म धेरैभन्दा धेरै जिल्लामा पुर्याउन कोसिस गर्नेछु। पार्टीमा व्यवस्थापन पक्ष, प्रचारप्रसार र परिचालन पनि गर्नुपर्ने हुनाले गम्भीर भएर लागेको छु। यिनै विषयलाई सन्तुलनमा राखेर अघि बढ्नेछु।
पार्टी र गठबन्धन बैठकमा बढी समय दिनुपर्नेछ। निर्वाचन क्षेत्रलाई त बढी नै समय दिइरहेको छु। यसपटक चुनाव प्रचारप्रसारको समय निकै कम भएका कारण सहभागिता अधिक त नहोला तर सकेसम्म सबै मतदाताकहाँ पुग्नेछु।
लगातार दुई पटक निर्वाचित भइसकेको निर्वाचन क्षेत्र कस्तो पाउनुभएको छ?
निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न जाँदै गर्दा त्यहाँ मलाई सहज हुन्छ भन्ने कहिल्यै ठान्दिनँ। अहिले पनि सहज रूपमा लिएको छैन। निर्वाचनका भगवान नै मतदाता हुनुहुन्छ। निर्वाचन मतदाताको हातमा हुन्छ। उम्मेदवारले त आफ्नो सन्देश मतदाताकहाँ पुर्याउने काम मात्रै गर्ने हो। अरू काम मतदाताले गर्ने भएकाले म निर्वाचनलाई कहिल्यै कम आकलन गर्दिनँ। विगतमा मैले एक युवा हुँ र संसद्मा गएर काम गर्न चाहन्छु भनेर मतदातासँग मत मागेको थिएँ। उहाँहरूले त्यो कुरा सुनिदिनुभयो। मलाई संसद्मा पुर्याउनुभयो। उहाँहरूको मत खेर जान दिइनँ। संसद्मा राम्रै भूमिका निर्वाह गरेँ।
मन्त्रीको जिम्मवारी पाउँदा मैले गरेको कामको मूल्यांकन मतदाताले पक्कै गर्नुभएको छ। अब मतदाताका बीचमा जाँदै गर्दा नयाँ मानिसका रूपमा गएको छैन। किनकि उहाँहरूले मलाई १० वर्षदेखि नै देखिरहनुभएको छ। बुझिरहनुभएको छ। त्यसैले म जहाँबाट उठिरहेको छु, त्यो मेरा लागि नयाँ होइन। नयाँ हो त केवल मेरो जिम्मेवारी। मतदातालाई भन्नैपर्छ- अब मेरो जिम्मेवारी नयाँ हुन्छ। म पार्टीमा महामन्त्री छु भने अब म मुलुक चलाउने तयारीमा छु। त्यसका लागि पनि मलाई पुनः जिताउनैपर्छ।
मतदातालाई नयाँ जिम्मेवारीबारे कसरी स्पष्ट पार्नुहुन्छ?
पहिला त मैले विगतमा गरेका कामबारे बताउनैपर्छ। मन्त्री हुँदै गर्दा मैले के गरेँ? दावाका साथ भन्न सक्छु। मैले क्षमता देखाउन पाएको भनेको स्वास्थ्यमन्त्री हुँदा हो। मसँग त्यतिबेला गरेको कामको फेहरिस्त छ। आमनागरिकले पनि अनुभूति गर्नुभएको छ। विधायकका रूपमा पाँच वर्षको मूल्यांकन गर्दा संसद्मा कसले भूमिका निर्वाह गर्यो र को-को प्रभावकारी सांसद छन् भनेर खोज्दा उहाँहरूले पक्कै मेरो नाम छुटाउनुहुन्न।
मैले मतको कदर गर्दै आफूलाई दर्विलो ढंगले प्रस्तुत गरेको छु। यही अनुभवका आधारमा पुरानो नेतृत्वले होइन, हामीले मुलुक चलाउने भनेर मतदातासँग आफ्ना कुरा राख्नेछु। विभिन्न पार्टीमा फरक-फरक पुराना पुस्ता रहेका छन्। त्यसबाट नेपालको राजनीतिलाई बाहिर ल्याउने कोसिस गर्नेछु। अघिल्लो पुस्ताबाट राजनीति बाहिर ल्याउन मतदाताले पुनः न्याय गरेर पठाउनुहुनेछ भन्ने विश्वास छ। म त्यहाँ सफल हुन्छु या हुन्नँ तर त्यसमा हामी कसरी जाने भन्नेमा आममतदातासँगै छलफल गर्ने नै छु। उहाँहरूसँग राजनीतिक चेतना र उपयोगिताको कुरा गर्नेछु।
यहाँलाई पार्टीमा साथ र सहयोग मिल्ला त?
परिवर्तन चाहने सबैको साथ र सहयोग मिल्छ। काङ्ग्रेस एक्लै निर्वाचनमा जान हामीले नेतृत्व परिवर्तन गरेर १५ लाख शुभेच्छुक थप्न सक्नुपर्थ्यो, त्यो सकिएन। त्यसैले गठबन्धनमा निर्वाचन लड्न लागेका हौँ।
काङ्ग्रेसमा मात्र होइन, सबै दलमा एउटा संस्थापक पक्ष रहन्छ जो बदल्न वा बदलिन चाहँदैन। अर्को समूह रहन्छ जो सधैँ बदल्नुपर्छ भन्छ, कोसिस पनि गर्छ तर सक्दैन। एउटा अर्को सानो समूह पनि संस्थापनसँगै हुन्छ। ऊ पूरै बदल्न चाहन्छ तर सकिरहेको हुँदैन। प्रयासचाहिँ गरिरहेको हुन्छ। म त्यही सानो समूहको व्यक्ति हुँ। त्यसैले म सधैँ सकारात्मक परिवर्तनका लागि प्रयास गरिरहेको हुन्छु। २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले पन्छाए झैँ त होइन तर सुधार गरेर जाने प्रयासमा छु।
अब काठमाडौँ-४ बाट नेतृत्व गरेर प्रधानमन्त्री बन्ने भन्न खोज्नुभएको हो?
पक्कै पनि म अब मुलुकको प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु। प्रधानमन्त्री चलाउँदा मुलुकलाई अहिले भन्दा राम्रोसँग अघि बढाउन सक्छु भन्ने आत्मविश्वास छ। काङ्ग्रेस, माओवादी, एमाले सबै दलका शीर्ष नेतालाई हेरौँ। सबैमा एकपटक सरकारको नेतृत्व गरेको र चलाएको अनुभव छ। म त एकपटक केही समय स्वास्थ्यमन्त्री भएको न हुँ।
अब म मुलुकको नेतृत्व गर्ने तयारीमा छु। उहाँहरूले मुलुक चलाउने कुरामा तयारी गर्नु नपर्ला तर मलाई पर्छ। म त्यो तयारीका साथ आमनागरिक र मतदाताकहाँ जानेछु। राजनीतिलाई अब पनि पुरानै पुस्तामा छोड्ने हो भने हामीले कहिलेसम्म संसद्मा जानका लागि मतदातालाई भनिरहने? मतदाताले अब नयाँ अनुहार दिने समय भएन भनेर सोध्दा के जवाफ दिने? नयाँ पुस्ताले कम्तीमा दुई कार्यकाल अघि बढ्ने लक्ष्य लिनैपर्छ। अनि मात्र राजनीतिमा लागेर मुलुकका लागि केही गरेको अनुभूति हुन्छ। लक्ष्य पूरा हुन्छ या हुँदैन त्यो मतदाताको निर्णय र चुनिएपछि आफूले निर्वाह गर्ने भूमिकाबाट स्पष्ट भइहाल्नेछ।
मतदाताले तपाईंलाई भाबी प्रधानमन्त्रीका रूपमा कसरी पत्याउने त?
मेरो उमेर, अनुभव र तयारीका आधारमा मतदाताले मलाई विश्वास गर्नुहुनेछ। लड्छु कि लड्दिनँ भन्नेमा मेरो ट्रयाक रेकर्ड छ। म ससुरासँग पार्टीको महामन्त्री लडेर आएको व्यक्ति हुँ। अहिले डा. शेखर कोइरालाको टिममा रहेर काम गरेको छु। सम्भवतः म एक जना मात्र हुँला जो पाँच वर्षभित्र सरकार चलाउन के गर्ने भनेर एकएक तयारी गरेर बसेको छु। त्यो सायदैले गरेको छ। हुन त एक पटक प्रधानमन्त्री भइसकेकाले त्यस्तो तयारी गर्नु पर्दैन होला। तर १० वर्षले नेपाली जनता र देशको भाग्य निर्धारण गर्नेछ। मैले गरिरहेको तयारीका आधारमा मतदाताले विश्वास गर्नेछन् भन्ने नै लाग्छ। म यो कार्यकाल र अर्को कार्यकाल मात्र भोट माग्ने हो।
यहाँले १० वर्षको समय सीमा किन तोक्नुभयो नि?
अबको १० वर्षमा हामीभन्दा धेरै योग्य मानिस आइसक्नेछन्। अहिले पनि हुनुहुन्छ। उहाँहरूका लागि स्थान छाडिदिनुपर्छ। त्यसैले मैले १० वर्षे समय तोकेको हुँ। राजनीतिमा सधैँ पद ओगटेर बस्ने होइन। निश्चित समय पुगेपछि स्थान छोड्नुपर्छ। हामीले अग्रजबाट त्यो सिक्न पाएनौँ। त्यसैले हामीले नै सुरु गर्न आवश्यक छ। अबको दुई कार्यकालमा पनि केही गर्न सकिनँ भने मैले जति कार्यकाल बसे पनि केही गर्न सक्दिनँ। मेरो तयारी यही कार्यकालमा कार्यकारी तहमा काम गर्ने भन्ने हो।
अबको पाँच वर्षको योजनाबारे केही भन्नुहुन्छ कि?
यतिबेला हजाराैँ उम्मेदवार मैदानमा छन्। बाहिरबाट हेर्दै गर्दा हजारौँलाई एउटै देख्नुहुन्छ। कतिपय उम्मेदवार खुसी र मस्त पनि हुनुहुन्छ। किनकि उहाँहरूले यो व्यवस्थाबाट लाभ प्राप्त गरिरहनुभएको छ। अर्काथरी उम्मेदवार जो बदलिनुपर्छ भनिरहेका छन् तर पनि अलमलमा पर्ने अनि कहिले भन्ने कहिले चुप लाग्ने गरिरहेका छन्। तर परिवर्तन हुन सकेका छैनन्।
तेस्रो भनेको मूलधारको भित्र नै पनि अर्को तह छ। जुन मूलधारको राजनीतिसँगै रहे पनि सन्तुष्ट छैन। जितेर पनि हारेको अनुभव गरिरहेका छन्। यद्यपि भित्रै बसेर उनीहरू लडिरहेका छन्। म आफूलाई यही भित्रको एक पात्र ठान्दछु। यही कुरा मैले मेरो मतदातासमक्ष अझ स्पष्ट पार्न खोजेको छु। म ‘बेस्ट’ दिन खोजिरहेको छु। म क्रियाशील सांसद थिएँ। अब आफूलाई नेतृत्वको ड्राइभिङ सिटमा राख्न चाहन्छु।
सरकार कहिले मेरो पार्टीको नेतृत्वमा रह्यो त कहिले अर्कोकोमा रह्यो तर प्रश्न गर्न छोडिनँ। विरोध गरेँ, सहयोग गरेँ र सुझाव दिए। फेरि पनि त्यही भूमिकाका लागि मात्र होइन म सांसद हुन चाहेको हाेइन। अबको पाँच वर्ष म सांसद मात्र भएर बस्दिनँ। अघिल्लो पुस्ताले विश्राम लिएन। अब खोस्नुपर्नेछ। त्यसमा क्रियाशील हुनेछु। त्यसका लागि मतदाताहरूको बल खोजिरहेको हुँ। मेरा छोरीहरू ठूलो हुँदा अल्पविकसित मुलुकका नागरिक होइन, हामी सम्पन्न मुलुकका नागरिक हौँं भन्ने अवस्थामा मुलुकलाई पुर्याउने प्रयास गर्नेछु। उनीहरूलाई मेरा बुवा राजनीतिमा हुनुहुन्थ्यो भनेर गर्व गर्ने गरी काम गर्नेछु। तर लामो समय किला गाडिएझैँ गरी पदमा बस्दिनँ। राजनीति अब १० वर्ष मात्र हो। त्यसपछि यहाँहरूसँगै आउने हो। हुन त अहिले पनि यहाँहरूसँगै त छु।
अघिल्लो पुस्तालाई विस्थापित गर्नु नै थियो भने पार्टी महाधिवेशनमा किन नेतृत्व परिवर्तन गर्न सक्नुभएन?
महाधिवेशनमा धेरै कुरा भए। नेतृत्व पनि परिवर्तन हुने अवस्थामा थियो। तर केही समस्या आए पनि हामी युवा पुस्ताका भनिनेहरू नै महामन्त्री छौँ। यद्यपि हामी पनि उमेर घर्कंदै गरेका राजनीतिक व्यक्ति हौँ। पुस्ताले चेतनाको उपयोगिताको कुरा गरेको हो। लडाइँ गर्ने अवस्था आइसकेको भनेको हुँ। सरकार चलाउने विषयमा लडाइँको कुरा। महामन्त्री छु। दुई पटक सांसद भएँ। एकपटक मन्त्री भएर चलाएँ। अब मसँग नेपालको प्रधानमन्त्री चलाउन सक्छु भन्ने आँट र खाका दुवै छ। जति पनि मानिसले भन्छन् र सोच्छन् नि त्यो भन्दा धेरै गुणा बढी क्षमता प्रदर्शन गरेर काम गर्न सक्छु। म बोलेपछि पछि हटेको छैन। त्यसैले म अघि बढ्ने नै हो।
नेतृत्व नै पाखा लगाउने कुरा गरिरहँदा राजनीतिमा पाँच दशकदेखि खाइखेली गरेकाहरूले छिर्के हान्दैनन् र?
कोसिस त गर्लान् तर खुट्टाले यति जरा हालेको छ कि सामान्य छिर्केले केही हुँदैन। मेरा मतदाताले त्यो कुरा बुझिसक्नुभएको छ। म मुलुकको नेतृत्व गर्न जाने भनेपछि केही न केही फरक र अस्वाभाविक प्रयास हुन सक्छ। त्यसमा सचेत भएर अघि बढ्ने हो। ममाथि काठमाडौँ-४ का मतदाताको निकै ठूलो लगानी र विश्वास छ। त्यसैले पनि मलाई जिताएर मुलुक बनाउन पठाउनुहुनेछ भन्नेमा ढुक्क छु। म मुलुक बनाउने खाकासहित मतदाताकोमा पुग्नेछु।
आफ्ना निकटस्थहरूँग पनि यस विषयमा कुरा राखिसक्नुभएको छ त?
राख्न थालिसकेँ। उहाँहरूको उत्साहले म झन् हौसिएको छु। उहाँहरूले मलाई काम गर्न सक्ने र परीक्षण गरेको व्यक्तिका रूपमा ठूलो विश्वास र भरोसा दिनुभएको छ। त्यसलाई म मर्न दिने छैन। छिर्के लगाउनेहरूसँग सचेत हुने र मेरा मतदातालाई विश्वस्त गर्ने प्रयासमा रहिरनेछु।
तपाईँ त काठमाडौँ ४ बाट भाग्न लागेको भनेर हल्ला पनि चल्यो नि?
हल्ला हुनु स्वाभाविक हो। किनकि केही जिल्लाबाट मेरो नाम सिफारिसमा परेको थियो। सर्लाही जिल्लाले त मेरो एकल नाम राखेर पठाएको हुँदा त्यहाँबाट चुनाव लड्न लागेको भनेर हल्ला हुनु स्वाभाविक थियो। सर्लाहीका साथीहरू काठमाडौँमा रहेर उठ्न अनुरोध गरिरहनुभएको थियो।
म काठमाडौँ ४ बाट दुई पटक सांसद भइसकेको र यही स्थानले सिंहदरबार र संसद् भवनको यात्रा तय गराएको हुनाले अन्त सर्ने पक्षमा रहिनँ। यद्यपि सर्लाहीबाट यहाँबाट भन्दा सहज जित निस्कने थियो। सर्लाहीका पार्टी नेताहरू यहाँ मेरो नाम घोषणा नहुँदासम्म काठमाडौँमा रहनुभयो। मलाई आग्रह गर्नुभयो। त्यसप्रति मेरो सम्मान छ। म उहाँहरूप्रति कृतज्ञ छु।
म जहाँबाट संसद् छिरेँ त्यहीबाट पुनः मुलुकको नेतृत्व गरूँ भन्न लागेर कतै नगएको हुँ। जेजे भोग्नु छ काठमाडौँ ४ मै भोग्ने मेरो तयारी हो। जुन स्थानले मलाई लड्न बल दियो त्यो स्थान छोडेर अन्यत्र जान अन्तःस्करणले दिएन।
अनि मुलुकका लागि आवश्यक केही नेताहरूले टिकट नपाउँदा कस्तो लागिरहेको छ?
कत्तिको दुःख लागेको छ भन्ने त मलाई र मसँग निकट रहेका साथीलाई मात्रै थाहा छ। मैले चाहेको जस्तो नेतृत्व भएको भए अहिलेको भन्दा धेरै राम्रो तरिकाले टिकट वितरण हुने थियो। गठबन्धनमा पनि अलिक बढी संख्या लिन सक्थ्यौँ हामी। साथीहरू पनि छुट्ने थिएनन्। दर्जनौँ साथीलाई न्याय गर्न सक्थेँ। देखिरहेका भन्दा फरक अनुहारले मौका पाउँथे। मैले चाहेको जस्तो नेतृत्व नहुँदा आंशिक सफलता मिलेको छ। त्यसकै लागि त लडिरहेँ र लडिरहनेछु। मैले माथि भनेअनुरुपको परिवर्तनले केही सहजता ल्याउनेछ। त्यसमा लागिरहेको छु।
चुनावी नारा के के छन्?
नारा बनाउने भन्दा पनि मतदातालाई मैले गर्ने कामको सूची र गरेको प्रयासबारे जानकारी गराउने हो। मैले नचिनेको र मलाई नचिनेको मतदाता कमै छन्। त्यसैले काठमाडौँ ४ लाई कसरी राम्रो बनाउने र यहाँबाट प्रतिनिधित्व गरेर गएको व्यक्तिले मुलुकलाई के गर्ने भनेर सुझाउने काम भइरहेको छ। नारामा मात्र होइन, हामी काममा विश्वास गर्नेछौँ। नेतृत्व नै फेर्ने कुरा गरेर हिँडेको हुनाले पनि ध्यान काङ्ग्रेसलाई कसरी बलियो बनाउने र मुलुकको विकास कसरी गर्ने भन्नेमा हुन्छ।
यसका लागि मैले मतदातासँग छलफल सुरु गरेको छु। अहिले घरघरमा जाने अवस्था छैन। किनकि निर्वाचन आयोगले यसमा रोकेको छ। त्यसैले आरम्भमा सामाजिक सञ्जालमार्फत अधिक मतदाताको जिज्ञासा लिने र उहाँहरूको चासोअनुरूप आफूलाई ढाल्ने वा उहाँहरूलाई स्पष्ट पार्ने काम गर्नेछु। मैले प्रश्नको उत्तर दिने प्रयास गरिसकेको छु। खासगरी मैले मेरा मतदातासँग प्रश्न लिनेछु।
काङ्ग्रेस बलियो नहुुँदा मुलुक धराशयी हुने कुरा बहुमत ल्याएको सरकारले गरेको कामबाट स्पष्ट भइसकेको छ। अन्यथा अल्पमतमा रहेको काङ्ग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउने अवसर पाउने थिएन। यसबाट स्पष्ट हुन्छ मुलुकमा काङ्ग्रेसको भूमिका कस्तो छ भन्ने।
प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा कपनको डुबान समस्या ओझेलमा परेको हो? कि समाधान गर्न सम्भव नभएको हो?
हो, कपन क्षेत्रमा डुबानको समस्या छ। त्यसको जड भनेको खहरे खोला पुर्नु हो। मेरो निर्वाचन क्षेत्र बन्नुभन्दा पहिले नै त्यहाँ बस्ती बसिसकेको थियो। खोला पुरेर बस्ती बसाल्ने काम भएको थियो। मैले कपनमा राजनीति गर्न जाँदा खोला थिएन। समस्या समाधानका लागि मैले अनेकन् कोसिस गरेँ असफल भएँ। सरकारले एक अर्बभन्दा बढी रकम खर्च गरिसकेको छ। तर यता टाल्यो उता, उता टाल्यो यता भत्कने भने झैँ भयो। प्रयास असफल भएकाले अब पुनः अध्ययन गरेर दिगो समाधान गरिनेछ। यो चुनावी नारा पनि होइन मेरो कर्तव्य हो। म पूरा गरेर छाड्नेछु।
यसको दीर्घकालीन समाधानका लागि पहल थालिसकेको छु। सरकारबाट कपन डुबान नियन्त्रण आयोजना पारित गराएर त्यसअनुरूप अध्ययन अनुसन्धान थालेका छौँ। किनकि नेपाल सरकारको अड्डाबाट त्यसको समाधान निस्कन सक्ने भएन। खोलाको अवस्थामा फर्काउन पनि सकिँदैन। विदेशमा कस्तो अभ्यास भइरहेको छ भन्ने विषयमा त्रिवि र काठमाडौँ विश्वविद्यालयका अध्येताहरूले अध्ययन गरिरहेका छन्। यसमा विदेशी विज्ञको पनि संलग्नता छ। अनि बल्ल समस्या दीर्घकालीन रूपमा समाधान हुनेछ।
डेंगु प्रकोपमा परेकालाई सहयोग गरिरहनुभएको भन्ने छ नि?
पक्कै, मैले पहिले पनि त्यसमा काम गरेँ। कोभिड हुँदा होस् या अन्य रोगमा म सहयोगीको भूमिकामा हुन्थेँ। अहिले पनि त्यही गरिरहेको छु। मैले हेल्प डेक्स राखेर काम गरेको छु। म एक्लो छैन। साथीहरूको समूहमा रहेर काम गरिरहेको छु। मेरो टिम छ। म तयारी गरेर काम गर्दछु। मलाई कोभिड पनि भयो र डेंगु पनि। त्यसैले डेंगुको बारेमा म भन्न सक्छु। सरकारले यसमा ध्यान दिएको देख्दिनँ। त्यसैले म मेरो क्षेत्रमा अग्रसर भएर लागेको हुँ। हिमाल प्रेस