Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
सोमबार, असोज १५, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन : भुसाल
आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन : भुसाल
गोर्खा पोष्ट
गोर्खा पोष्ट शनिबार, असोज १५, २०७९

बिहीबार मध्यरातमा सकिएको नेकपा एमाले सचिवालय बैठकले टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । र, एमाले अध्यक्ष ओलीको तर्क छ आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गर्ने नेताहरुलाई विना आत्मालोचना कसरी टिकट दिने ?’

बिहीबारको निर्णय र ओलीको अडानले २७ असार २०७८ मा १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुले आसन्न चुनावको टिकट नपाउने जोखिम हुन्छ ।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसाल, व्यक्तिलाई निर्णयको अधिकार दिनु एकदमै गलत मान्छन्, सचिवालयले निर्णय गरिसकेकाले ओलीसँग राम्रो विवेक पुर्‍याउने अपेक्षा राख्छन् । तर टिकटकै लागि आत्मालोचना गर्न भने नजाने उनको अडान छ ।

उनी भन्छन्, पञ्चायतमा पुलिसले कुटेर पिटेर थुनेर यातना दिएर पञ्चायतलाई मान्छु भन्, तलाईं छोडिदिन्छु भन्दा त नमानेर करिब ३ वर्ष करिब जेल बसेँ । ६ पटक गिरफ्तार भएँ । किनभने मेरो मान्यतामा अडिग रहेँ । यो उमेरमा आएर टिकटका लागि कसैकहाँ जाने कुरै हुँदैन ।’

प्रस्तुत छ, पूर्वउपमहासचिव समेत रहेका भूसालसँग गरिएको कुराकानीको सम्पादित अंश :

एमालेले उम्मेदवार हालसम्म टुंग्याउन सकेको छैन । खासमा केमा अड्किरहेको छ ?

नेकपा एमाले वा एमालेको संकटको कुरा गर्दा एमालेलाई मात्रै व्यवस्थापन गरेर हुँदैन । यसको इतिहास, सामथ्र्य, कार्यकर्ता शक्ति र नेपालको वाम आन्दोलनकै व्यवस्थापन गर्नुपर्दछ । एमालेको जिम्मेवारी त्यो हो, त्यो सामर्थ्य पनि एमालेमा छ ।

त्यसभन्दा अलि अघि जाँदा हाम्रो समग्र राजनीति, जसलाई मैले राजनीतिक स्थिरता भन्ने गरेको छु, त्यो राजनीतिक स्थिरतालाई ग्यारेन्टी गर्नुपर्दछ । लोकतान्त्रिक व्यवस्था, संरचना लगायतलाई एमालेले व्यवस्थापन गर्नुपर्दछ । यसलाई नेतृत्व गर्नुपर्दछ । त्यो भन्दा अगाडि एमालेले वाम आन्दोलनलाई लिड गर्नुपर्दछ । त्यसभन्दा पनि अझ अघि स्वयं एमालेलाई एकतावद्ध गराउनुपर्दछ ।

एकतावद्ध पार्ने भनेको नीति, विचार, सिद्धान्त र प्रक्रियामा हो । संविधान बमोजिम हामी चल्छौं कि चल्दैनौं भन्नेमा हो । वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न सक्दैनथ्यो । एकीकृत समाजवादीले झन् गर्न सक्ने कुरै भएन । वाम आन्दोलनको नेतृत्व गर्नुपर्ने त एमालेले नै हो । त्यो अवसर हामीले गुमाएका छौं । यो एउटा संकट हो ।

दोस्रो, अहिले पनि एमाले आन्तरिक लोकतन्त्रका साथ एकतावद्ध भयो भने आगामी धेरै चुनौती सामना गर्न सक्छ । तर, हामीले केही गल्ती गरेका छौं । गत महाधिवेशनबाट सम्पूर्ण जिम्मा कमरेड ओलीलाई दियौं । पार्टीको नेतृत्व उहाँले बनाउने भन्ने जस्तो गरी गलत निर्णय गर्‍यौं । त्यसको कारणले गर्दा जिल्लामा पनि ओलीकै प्रतिनिधिहरु भए । गाउँमा पनि तिनीहरुले नै नेतृत्व गर्ने भए ।

स्थानीय तहको चुनावमा पनि करिब करिब महाधिवेशनकै जस्तै भयो । तल्लो तहमा भएका निर्णयमा माथिको निर्णय हाबी भयो । तलका निर्णयहरु जस्ताको त्यस्तै लागू भएनन् । उम्मेदवार हुने प्रक्रिया केन्द्रिकृत गरियो । धेरै ठाउँको उम्मेदवार त कमरेड ओलीले नै तोक्नुभयो, जसको कारणले गर्दा ठूलो क्षति भयो । त्यो क्षति सानो तिनो होइन । कमसेकम अरु ५०÷६० सिट हामीले सजिलै जित्न सकिने थियो ।

हिजो र अस्ति (बिहीबार र बुधबार) को बैठकको कुरा मैले सुनें । गर्नै नहुने निर्णय हाम्रो सचिवालयले गर्‍यो । सचिवालयको बैठक दुई दिन बस्यो र सबै निर्णय अध्यक्षले गर्ने भनेर तोक्यो । सचिवालयले पार्टीलाई विधि अनुसार चलाउन र संघ र प्रदेशका उम्मेदवार तोक्न सक्दैन भने बैठक नै किन बस्नुपर्‍यो ? बैठक नै जरुरी भएन ।

बैठक नै हो भने त यस्तो निर्णय गर्दा व्यक्तिलाई निर्णयको अधिकार दिनु एकदमै गलत हो । ओलीलाई निर्णय गर्ने अधिकार त उहाँहरुले दिइसक्नुभएको छ । अब कमरेड ओलीको विवेकले जे देख्छ, निर्णय त्यही हुन्छ । ओलीसँग राम्रो विवेक पुर्‍याउने अपेक्षाबाहेक हामीसँग अरु विकल्प छैन ।

विगत हेर्दा चाहिँ ओलीले कति विवेक पुर्‍याउनु होला ?

इतिहास जस्तो बनायौं, त्यस्तै बन्यो । भविष्य कस्तो हुन्छ भन्दा हामीले जस्तो बनाउँछौं, त्यस्तै हुन्छ । एमाले स्वयंले आफ्नो भविष्य जस्तो बनाउँछ, त्यस्तै हुन्छ । निर्णयको हिसाबले कमरेड ओलीले जस्तो बनाउनुहुन्छ, एमाले त्यस्तै बन्छ ।

यो भनेको त तपाईंहरुमा हामीले एमाले बनाउँछौं भन्ने अवस्था पनि रहेन, होइन ?

एमाले त हामीले निर्माण गरेकोे एमाले हो । हामी भनेको सचिवालय, अध्यक्ष, महासचिव, केन्द्रीय कमिटी मात्रै होइन । समाजका असल मान्छेहरुको शीला टिप्दै टिप्दै उठाएको विराट आन्दोलन हो । यो आँखाबाट हेर्दा आज जे जति देखिएको छ, ती अनपेक्षित छन् । असंख्य मान्छेहरुले निर्माण गरेको आन्दोलन हो ।

जस्तो, म विद्यार्थी आन्दोलनबाट आएको हुँ । आन्दोलन नभएको विद्यार्थीकालमा कुनै दिन थिएन । आन्दोलनका कारण वर्षभरि नै जेलमा मानिसहरु खाली हुँदैनथे । केही केही व्यक्तिले प्राण नदिएको त कुनै वर्षै हुने थिएन ।

विद्यार्थीमा जस्तै किसान, महिला, युवा सबैको विराट अभियान थियो । यसको भविष्यको रक्षा गर्ने भनेको ती अगणित सबै मानिसहरुको हो । लाखौं मान्छेहरुको भावना, तर्क, वुद्धि, संवेदना बोक्ने र साझा लिडरसिपले मात्रै पार लगाउनसक्छ । हामी त्यो बाटो अहिले हिँडेका छैनौं ।

तर चुनाव सुरु भइसकेको छ । एमालेलाई कसरी राम्रो बनाउन सकिन्छ भनी यसको विचार, सिद्धान्त, विधि, विधान, पद्धतिमा छलफल गर्ने समय हामीसँग छैन । यसबारे मैले अहिले छलफल गर्नु राम्रो पनि हुँदैन । सचिवालयले कमरेड ओलीलाई उम्मेदवार बनाउने अधिकार दिइसक्यो । उहाँले गुटबन्दी नगरेर, त्यसबाट माथि उठेर निर्णय गर्नुहोस् भन्ने अपेक्षा गर्छौं ।

यद्यपि, १० भाइ र १० बुँदे कुराहरु पनि आइरहेका छन्, जुन अनपेक्षित छन् । नआउनुपर्ने कुराहरु आइरहेका छन् । गएको १० दिनदेखि हल्ला चलिरहेको छ, १० बुँदेहरुलाई टिकट दिइँदैन । त्यसमा आधिकारिक रुपमा भने कोही बोल्दैनन् ।

१० बुँदे भनेको निश्चित १० वा २० जनाको प्रतिनिधित्व होइन । पार्टीभित्र आएको ठूलो समस्यालाई कसरी समाधान गर्ने, पार्टीलाई कसरी जोगाउने, सत्यानाश हुनबाट जोगाउन ३/४ महिना हामी बहुमत राम्रोसँग लागेर एउटा निष्कर्षमा पुग्यौं । वास्तवमा त्यो पार्टीको निर्णय हो ।

तर केपी ओलीको मन जितेन भने एमाले टिकट पाउन त कठिन छ भनिन्छ नि ?

सबै शक्ति ममा केन्द्रित भएको भए पनि यस्तै हुन्थ्यो । अहिले कमरेड ओली अध्यक्ष हुनुहुन्छ र पार्टी कमिटीले नै निर्णय गर्ने जिम्मा कमरेड ओलीलाई दिन्छ भने त स्वभावैले उहाँले चाहे दिनुहुन्छ, नचाहे दिनुहुन्न भन्ने परिस्थिति आयो ।

हामीले जुन प्रक्रिया अपनायौं, यसले फेरि त्यही देखाउने भयो । यदि त्यो सारा शक्ति मसँग हुन्थ्यो भने मान्छे घनश्याम भूसालसँग त्रस्त हुन्थे, डराइराखेका हुन्थे । घनश्याम भूसालको हातमा शक्ति केन्द्रित हुने या कमरेड केपी ओलीका हातमा शक्ति केन्द्रित हुने गलत तरिका हो । यो तरिका लोकतान्त्रिक तरिका होइन, वामपन्थी तरिका होइन ।

हिजो माधव नेपाललाई धोका दिनेले भोलि ओलीलाई पनि धोका दिन सक्छन् । उनीहरुलाई टिकट नदिनु ठीकै हो भनेर राम्रैसँग खुच्चिङ भन्नेहरु पनि भेटिन्छन् नि ?

मैले धेरैचोटी भनिसकेको छु, यो हामी माथिको आक्षेप हो । राजनीतिमा को कता लाग्ने भन्ने खुल्ला छ, त्यो धोकाधडी हुँदैन । जहाँसम्म माधव नेपाललाई त्यहाँसम्म पुर्‍याएर छोडियो भनेर कसैले भन्छ भने त्यो हामीले लामो छलफल गरेर सामूहिक रुपमा गरेको निर्णय हो १० बुँदे । तर माधव कमरेडले त्यसको अपनत्व लिनुभएन र उहाँ हिँड्नुभयो भनेपछि कहाँ धोकाधडीको कुरा छ र ?

माधवकुमार नेपालले आफ्नो पार्टी बनाएर जानुभयो, केपी ओलीले तिमीहरुले साथ दिएनौं भन्नुभयो । त्यसैले अहिले तपाईंहरु यता न उताको हुनुभयो ।

चिनियाँ कम्युनिष्टहरुले हामी धनी हुन पर्‍यो भनेर क्रान्ति गरे । त्यो रफ्तारमा विकास गर्दा पनि पेटभरि भात खान, एक आङ लुगा लगाउन, बच्चाबच्चीले पढ्न, आफूलाई आवश्यक पर्दा औषधीमूलो गर्न उनीहरुले ७० वर्षदेखि संघर्ष गर्नुपर्‍यो ।

हामीले त मुलुकमा समाजवाद ल्याउने भनेका छौं, मुलुकलाई समृद्ध बनाउने भनेका छौं, त्यसअर्थमा यो बाटो त कठिनाइ नै कठिनाइको हो । यो कठिनाइको बाटो हामी सामूहिक रुपमा हिँड्छौं कि हिँड्दैनौं ? यसमा हामी सफल हुन्छौं कि हुदैनौं ? भन्नेले हाम्रो सफलता र असफलताको मापन हुन्छ । संगठनमा, नेतृत्वमा कमजोरीहरु हुन्छन्, तर त्यो गल्तीलाई सुधार्ने संरचना पार्टीमा छ भने कम क्षति व्यहोर्छ । पार्टीभन्दा व्यक्ति ठूलो भइदियो भने आन्दोलनले भयंकर ठूलो क्षति व्यहोर्छ ।

नेकपा एमालेभन्दा व्यक्ति ठूलो भएको हो कि होइन ? यसका अधिकारीहरु ठूला भएका हुन् कि पार्टी ? भन्ने विषयमा पछि छलफल गर्छाैं । यस्ता कमी कमजोरीबारे छलफल गर्ने समय रहेन, पछि छलफल गर्छाैं । अहिले त संसद विघटन गर्नु ठीक हो भनेर विघटन गर्नेहरु पनि यहीँ छौं, संसद विघटन गर्नु गलत हो भनेर त्यसविरुद्ध विद्रोह गर्ने, मन्त्री पद छोडेर सडकमा पुग्नेहरु पनि यहीँ छौं । सबै एक ठाउँ भएर जाँदैछौं । नेकपा एमाले अहिले अप्ठ्यारोमा छ तर अरुको तुलनामा हेर्नुहुन्छ भने हामी अप्ठ्यारोमा छैनौं पनि ।

एमालेले पार्टी बहुमत ल्याउने भनेर अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । तपाईंहरुलाई टिकट दिँदा त आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न भूमिका खेलेको इतिहास नदोहोरिएला भन्ने के छ र ?

मान्छेको नाम, राशी, कुण्डली हेरेर गर्ने कुरा त एउटा होला । राजनीतिक कुरा हो भने हामीले गरेको भनेको त संसद विघटनको विरोध मात्रै हो । संसद विघटनको कुरा सानोतिनो होइन । हाम्रो मुलुकमा गएको ७० वर्ष भूराजनीतिक शक्तिले खेलेर या हामीभित्र कमजोरी रहेर प्रतिगामीहरुले गर्ने भनेको मुलतः लोकतन्त्रलाई अस्थिर पार्न संसदलाई हान्ने हो ।

राजा महेन्द्रले पनि संसदलाई हाने, गिरिजाप्रसाद कोइरालाले पनि संसदको गरिमा कायम गर्न सक्नु भएन, ज्ञानेन्द्रले पनि संसदलाई नै हाने । नेकपा एमालेले पनि संसदलाई हान्ने हो, अस्थिर पार्ने हो भने संसदको माइबाप को हुन्छ ? यो संविधानको माइबाप को हुन्छ ? हामी होइन ?

संसदको विघटन, जसले संविधानलाई अस्थिर बनाउँछ, संविधानलाई कमजोर बनाउँछ, त्यो नगरौं भन्दा टिकट पाइँदैन भने त जोसुकै क्रान्तिकारी यसका लागि तयार हुनुपर्छ ।

संसद पुनर्स्थापित भइसकेपछि हो नि यहाँहरुले ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न भूमिका खेलेको ?

त्यसपछि पनि उही दुर्घटना भयो नि फेरि । अर्काेपटक पनि संसद विघटन नै भयो । हामीलाई पार्टीको आधिकारिक ठाउँबाट बाहिर लखेटेपछि उत्पन्न भएको समस्या हो । किन लखेटियो भन्ने प्रश्नको उत्तर अहिलेसम्म आइसकेको छैन । हामीलाई जवाफ नदिने हो भने के सावित गर्नुपर्छ भने पटक पटकको संसद विघटन सही थियो भनेर पुष्टि गर्नुपर्छ । त्यसैले यसबारे धेरै छलफल गर्न चाहन्नौं । चुनावको मुखमा धेरै छलफल गर्ने समय हामीसँग छैन ।

संसद विघटन गर्नेहरु पनि चुनावमा जाने, संसद विघटन गरेकोमा विरोध गर्नेहरु पनि चुनावमा जाने भन्ने हाम्रो आम बुझाइ हो । मैले तपाईँले संसद विघटन गर्नुभएको थियो भनेर ओली कमरेडमाथि प्रश्न गर्ने र उहाँले पनि तँ त संसद विघटनको विरोधमा बोलेको थिइस नि भनेर ममाथि प्रश्न गर्ने हो भने विथोल्ने काम हुन्छ ।

तर अहिले त तपाईंहरु यही विन्दुमा हुनुहुन्छ होइन र ?

अहिले त्यस्तो हुँदैन होला भन्ने अपेक्षा गरेको छु । म स्थायी कमिटी सदस्य हुँ, यो सचिवालयले निर्णय गरेको छ । त्यति विवेक पुर्‍याएको छ होला, यदि छैन भने अध्यक्ष कमरेडले विचार पुर्‍याउनुहुन्छ होला ।

तर हिजो संसद विघटनको विरोधमा खडा भएकै कारण आज संकटमा हुनुहुन्छ । बोल्न पनि भएको छैन, नबोली बस्ने अवस्था पनि छैन, होइन तपाईंहरुको ?

म रहेको स्थायी कमिटीमा यस्तो कुनै निर्णय भएको छैन । केन्द्रीय कमिटीमा यस्तो कुनै निर्णय भएको छैन । कसैले गरेको छ भने त्यो कमिटी विधि, पद्धति अनुसार छैन । यदि कसैले भनेको छ भने यो होइन है भनेर भन्नु राम्रो हुन्थ्यो । तर भनिएको छैन ।

यदि कसैले यस्तो सोचेको छ भने त यो दुर्भाग्य हुन्छ । चुनावको यो संकटको मुखमा कमरेड ओलीले फेरि यस्तो दुर्भाग्यतर्फ पार्टीलाई लैजानुहुन्छ भनेर कसरी विश्वास गर्नु ?

व्यक्तिगत रुपमा मैले आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन । पञ्चायतमा पुलिसले कुटेर पिटेर थुनेर यातना दिएर पञ्चायतलाई मान्छु भन्, तलाई छोडिदिन्छु भन्दा त नमानेर करिब ३ वर्ष करिब जेल बसेँ । ६ पटक गिरफ्तार भएँ । किनभने मेरो मान्यतामा अडिग रहेँ ।

तपाईंहरुलाई पो संकट छ, अध्यक्ष ओलीलाई त बहुमत ल्याउँछौं भन्ने आत्मविश्वास होला नि ?

कमरेड ओलीले पनि बुझ्नुभयो होला भन्ने अपेक्षा गर्छु, किनकी हिजो जतिखेर हामी एकै ठाउँमा थियौं, हाम्रो सान सत्ताको चुलीमा कमरेड ओली नै हुनुहुन्थ्यो ।

जब पार्टी कमजोर भयो, हामी सरकारमा रहेनौं । संसदमा हाम्रो हिजोको सान रहेन । त्यसैले व्यक्ति बनेर त हुने रहेनछ, संगठन बन्नु पर्दोरहेछ भन्ने त कमरेड ओलीले बुझ्नु भयो होला भन्ने म अपेक्षा गर्छु ।

तपाईंहरुको मनमा हिजो अध्यक्षविरुद्ध गएर गल्ती गरियो, एकचोटी आत्माआलोचना गरौं न भन्ने छ कि छैन ?

मैले पहिलेदेखि नै भनेको छु, म बोलेका कुरामा म जिम्मेवार छु । जुन घटनामा संलग्न छु, त्यसमा मैले जे प्रतिक्रिया गरेको छु, त्यसका लागि अहिले पनि म जिम्मेवार छु । आम रुपमा मैले गल्ती गरेको छैन ।

स्मरण गराउन चाहन्छु, मैले संसदमा आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा अनुपस्थित हुनु, अदालत जानु संसदीय दलको विधान प्रक्रियाको हिसाबले ब्लन्डर हो, कारवाही गर्नुपर्छ । त्यो सीमाभित्र हेर्नुहुन्छ भने मलाई पनि कारवाही गरिनुपर्छ भनेको हो ।

संगसंगै के पनि भनेको हुँ भने यसअघिका घटना, संसद विघटन, फागुन २८ गतेको बैठक, अदालतले एमाले र माओवादीलाई अलग अलग बनाइदिसकेपछि केहीलाई बाहिर राखेर पार्टीको निर्णय गर्ने जे जस्ता काम भए, इतिहासमा हामीबाट भए गरेका कमी कमजोरी हुन् र त्यही कारण हामी अदालतसम्म जानुपर्ने अवस्था आयो ।

म अहिले पनि संसद र यो संवैधानिक व्यवस्थामाथि हुने आक्रमणको विरुद्धमा उभिन्छु । र हरेक क्रान्तिकारीहरु उभिनुपर्छ । यस्ता विषयमा हामी पछाडि छलफल गर्नेछौं । अहिले त चुनाव सुरु भयो । नेकपा एमालेको सामर्थ्यलाई कसरी सम्पूर्ण हिसाबले प्रयोग गर्न सकिन्छ, र नेकपा एमालेको इतिहास, परम्परा, यसको सान, यसको मर्यादा कसरी बचाउन सकिन्छ भनेर हामीले सोच्ने बेला हो । हामी त्यही कुरामा केन्द्रित छौं ।

टिकट नपाए के गर्नुहुन्छ ?

नेकपा एमालेभित्र त्यो तहमा निर्णय होला भन्ने मलाई लाग्दैन । किनकी त्यसो गर्नु भनेको व्यक्तिगत प्रतिशोध हुन्छ ।

व्यक्तिगत प्रतिशोधका लागि पार्टीको विधि, पद्धति उल्लंघन हुन्छ भन्नेमा मैले विश्वास गर्दिन । त्यो बेलामा को कहाँ उभिएको थियो भन्ने हेरेर टिकट वितरण हुन्छ भन्नेमा म विश्वासै गर्दिन ।

आजको परिस्थितिमा यो विश्वास अलिकति धेरै भएन ?

एमालेसँग अपेक्षा गर्नु त स्वभाविक हो नि ! मैले त मेरो राजनीतिक जिन्दगीमा आँखा खोल्दा यही पार्टीमा खोलेको हुँ । अहिले म ६० वर्ष भएँ, यही पार्टीमा छु । मेरो वुद्धि, वर्कत, सक्रियता यसैमा लगाएको छु । अनि यसप्रति भरोसा गर्नेबाहेक अर्काे के हुनसक्छ ?

म मेरो जिन्दगी, मेरो जिन्दगीका प्रतिवद्धताप्रति गौरव गर्छु । त्यसअर्थमा कतिपय कमी कमजोरीका बाबजुद यही पार्टीसँग अपेक्षा गर्ने हो । कहिलेकाहीँ संगठनभन्दा व्यक्ति ठूलो भएजस्तो देखिन्छ । यो संगठनमा आउने भयंकर ठूलो संकटको बेला हो । अहिले हाम्रो पार्टीमा मात्रै होइन कांग्रेस, माओवादीमा हेर्नुस् न को शक्तिशाली छ ? अहिले नेपाली राजनीतिमा नै यस्तो छ । त्यसो गर्दा ऐतिहासिक प्रवृत्ति नै यो हो भने केही कमजोरी हामीसँग पनि छ भने हामी सुधार्दै जान्छौं ।

कांग्रेस र माओवादीमा १० बुँदे गर्नेहरु छैनन्, एमालेमा १० बुँदे छन् नि ?

त्यो पनि हो । अहिले अलि चर्चा कम हुने गरेको छ, तर हामी दक्षिण एसियाको सबभन्दा लोककतान्त्रिक पार्टी हौं भन्छौं । त्यो साख हामीले अलिकति गुमाएका छौं ।

त्यो पुँजी एमालेमा मेरो मात्रै हुँदैन । मुलुकमा राम्रो पार्टी हुन्छ भने त्यो राष्ट्रकै पुँजी हो । हामीले त्यसमा गौरव गरेर आएका हौं । यो बीचमा अलिकति खण्डित भएको छ ।

आत्माआलोचना गरेर टिकट पाइन्छ भने तपाईँ एकपटक आत्माआलोचित हुन बालकोट जानुहुन्छ कि जानुहुन्न ?

मैले अघि पनि भनेँ कि व्यक्तिगत रुपमा मैले आत्मालोचना गर्नुपर्ने गरी कुनै गल्ती गरेको छैन । पञ्चायतमा पुलिसले कुटेर पिटेर थुनेर यातना दिएर पञ्चायतलाई मान्छु भन्, तलाई छोडिदिन्छु भन्दा त नमानेर करिब ३ वर्ष करिब जेल बसेँ । ६ पटक गिरफ्तार भएँ । किनभने मेरो मान्यतामा अडिग रहेँ ।

यो उमेरमा आएर टिकटका लागि कसैकहाँ जाने कुरै हुँदैन । यो त पार्टीको विधिभन्दा विपरीत हुन्छ । अझ माग्न जाने कुरा नै गलत हो । त्यसमाथि आफ्नो मान्यताका विरुद्धमा माफी मागेर टिकट माग्ने भन्ने अकल्पनीय कुरा हो । अनलाइन खबर


प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १६:२७
#नेकपा एमाले
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु : गगन थापा
प्रधानमन्त्रीको नेतृत्व लिन सक्छु : गगन थापा सोमबार, असोज ३१, २०७९
विश्वप्रकाश र म एक अर्काका परिपुरक हौं र हुनेछौं : सिटौला
विश्वप्रकाश र म एक अर्काका परिपुरक हौं र हुनेछौं : सिटौला आइतबार, असोज ३०, २०७९
साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु : गुरुराज घिमिरे
साथीहरूको चित्त बुझ्छ भने म चुनाव नलड्न पनि सक्छु : गुरुराज घिमिरे शनिबार, असोज १५, २०७९
एमालेले मलाई आत्मसम्मानमा चोट पुर्‍यायो : द्वारिकलाल चौधरी
एमालेले मलाई आत्मसम्मानमा चोट पुर्‍यायो : द्वारिकलाल चौधरी शनिबार, असोज १५, २०७९
एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहन्छु : आचार्य
एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहन्छु : आचार्य शनिबार, असोज १५, २०७९
Birtamode Aspatal Advt Birtamode Aspatal Advt
लोकप्रिय
  • Week
  • Month
Nagar Aspatal 2 Nagar Aspatal 2
समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण गोर्खा पोष्ट
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने गोर्खा पोष्ट
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ गोर्खा पोष्ट
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्