झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ आज सम्पन्न भएको छ ।
गत फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्ली सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदप्रसाद अग्रवाल, व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्रकुमार सिंह, प्रकाश गौतम र बीरबहादुर धमलालाई सम्मान गरिएको हो ।
![Bhima shiwakoti awarded1677769594.jpeg](https://www.gorkhapostdaily.com/uploads/posts/Bhima shiwakoti awarded1677769594.jpeg)
सो कार्यक्रममा पत्रकार लक्ष्मी लुइँटेल र सेफ राज पौडेललाई समेत सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुको परिचय र सम्मानपत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताए । उनले दलहरूबीच असहमति भए पनि आर्थिक धरातल बलियो बनाउन एक ठाउँमा उभिनुपर्ने धारणा राखेका थिए ।
आर्थिक संकटले क्रमिक रूपमा सबैलाई छुने बताउँदै महामन्त्री शर्माले राजनीति स्थिरताको अपेक्षा गरिएको भए पनि मुलुक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने शंशय उत्पन्न भइरहेको बताए । आर्थिक स्थिरताको खोजी नै मुख्य मुद्दा हुनुपर्ने बताएका महामन्त्री शर्माले व्यवसायीको मनोभावलाई उठाउने कुरामा आफू गम्भीर बनेको पनि बताए । ![Bedprakash Agrawala1677769593.jpeg](https://www.gorkhapostdaily.com/uploads/posts/Bedprakash Agrawala1677769593.jpeg)
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले दिनदिनै उद्योग बन्द भइरहेको अवस्थामा नीजि क्षेत्रको प्रवद्र्धनका लागि समन्वयात्मक ढंगबाट काम गर्न आग्रह गरेका छन् ।
महोत्सव समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवे, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, बुधबारे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव अर्जुनकुमार मैनाली र सञ्चारकर्मी लीला अनमोलले संयुक्त रुपमा गरेका थिए ।