समादरणीय बुवा, आज "फाल्गुन ७ गते, प्रजातन्त्र दिवस" । प्रजातन्त्र दिवस भन्ने बितिक्कै हजुरलाई सम्झिन्छु ।
एक त, आफ्नो अभिभावक मात्र नभई प्रजातन्त्रकै अभिभावकत्व मा पनि भूमिका निर्वाह गर्नु भएको हजुरको इतिहास बारे सुनेर होला, अर्को हजुरको जन्मदिवस भएर होला ।
आज हजुरको सोच र जीवन उद्देश्यबारे जब मनन् गर्छु अनायास ममा गम्भीर भावना जागृत हुन्छ । भर्खरको ठिटो रहदा हजुरलाई कैयौं बिघा जमिन सम्पती अंश प्राप्त भयो । अल्लारे बैंशमा त्यो सम्पत्ति को जगमा हजुरले भब्य बैभवशाली जीवनशैली सहित देश बिदेश को सैर-सपाटा, बिशिष्ट मनोरञ्जन, पूर्णत बिलासी जिन्दगी बाॅच्न यथेष्ट पुग्थ्यो । झन त्यबेला आज जस्तो महँगी पनि त्यती थिएन । जे चाह्यो त्यही पुग्थ्यो । तर हजुरले अर्कै कष्टपूर्ण बाटो रोज्नुभयो । यो जगजाहेर नै छ । आखिर के त्यस्तो चिज हो जस्ता कारण हजुरले फकिरको जिवन खुसी साथ रोज्नुभयो ? पक्कै पनि 'आफ्नो देश' र 'प्रजातन्त्र' । अहिलेका झुट, षडयन्त्र र अपराध को राजनिती देखेको भोगेको म र हाम्रो पुस्तालाई यो अचम्म लाग्छ ।
जनताको दुहाई दिदै विदेशीका दलाल बनेर बैदेशिक हस्तक्षेपसामु लम्पसार परेर, लोकतन्त्र र गणतन्त्रको जामा भिरेर देश र जनता कङ्गाल बनाउने खेललाई आजकाल राजनीति गरेको भनिदैछ। पैसा खर्च गरेर चुनाव जित्ने र अकुत कुम्ल्याएर ठूला नेता बन्ने दृश्य आज जताततै देखिन्छ।
आजका नेतृत्व गण प्रजातन्त्रको नाममा राजनीतिको पेशा गरेर त्यही सम्पन्नता चाहन्छन्, जुन हजुरले प्रजातन्त्रका लागि त्याग गरिदिनुभयो । अचम्म लाग्छ हामीलाई यो देखेर । निजी भौतिक सम्पन्नताको सुखको बदला बृहत राष्ट्रिय हितको आनन्दको अझ दूरगामी महत्व राख्छ भन्ने हजुरको ठम्याई जब मैले बुझे तब म गम्भीर हुन्छु ।
बुबा हजुरको जस्तो महान कार्यको जिम्मेवारी त बहन गर्न त हामी जस्ता भौतिक सुविधाका बानी भएकाहरूले के सकौला र । सकेको समाजसेवाद्वारा हजुरको सुनाम बचाइराख्न पाए धन्य सम्झने छु र त्यही गरेर आत्मसन्तुष्टि पाई खुशी साथ जिउनेछु ।
नतमस्तक छु बुवा हजुरको पुत्रको रूपमा यस धरतीमा जन्मे । अनन्त ब्रह्माण्डको कुनै बिन्दुबाट सदासदा आशिर्वादको ऊर्जा पाईरहने आशा गर्दछु।
हजुरको पुत्र
विवेक