कनकाई । झापाको कनकाई —४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्याबको सम्पूर्ण सामाग्री प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।
झापामा कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीनवर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एककालागि एक अभियान’को पहलमा पीसीआर ल्याव संचालनमा आएको थियो ।
हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याव प्रयोग बिहिन हुन थालेपछि त्यहाँ रहेका बहुमुल्य सामाग्री प्रादेशिक अस्पतालमा हस्तान्तरण गरिएको ‘एककालागि एक अभियान’ का संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । ‘एककालागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालका विच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई सञ्चालनमा ल्याएको थियो ।
हाल संक्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित बहुमुल्य उपकरण अस्पताललाई नै हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताए।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रोहबरमा अभियानका संयोजक गिरी र प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज जितेन्द्र झा सहितको हस्ताक्षरमा ल्यावका विभिन्न जिन्सी सामाग्रीको विवरण(लिष्ट)सहित अस्पताललाई हस्तान्तण गरिएको हो ।
एककालागि एक अभियानको अगुवाईमा विपन्न एक परिवारलाई हुने खाने एक परिवारले सहयोग गर्नका लागि शुरु भएको अभियानबाट मुलुकमै नमूनाको रुपमा सरकारलाई सहयोग पुगेको भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जनस्तरबाट स्थापना भएको कोटीहोमस्थित पीसीआर ल्याबको सेवाप्रति अभियानका संयोजक गिरीलाई कनकाई नगरपालिकाको तर्फबाट आभारसहित धन्यवाद ज्ञापन गरेका छन् ।
कनकाई नगरपालिकाका स्वास्थ्यकर्मीहरुबाट सेवा प्रवाह भएको कनकाईको पीसीआर ल्याव सञ्चालनमा आएसँगै कोरोना भाइरस संक्रमण नियन्त्रणमा थप टेवा पुगेको भन्दै ल्यावमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीसहित अभियानसँग सम्बन्धित सबैप्रति नगर प्रमुख पोखरेलले आभार प्रकट गरे ।
ल्याव संचालनको आर्थिक व्यवस्थापन कनकाई नगरपालिकाको तर्फबाट भएको हो ।संक्रमणकालीन अवस्थामा कोटीहोमबाट पीसीआर ल्याब सञ्चालनमा आएसँगै तीन वर्षको अवधिमा ९ हजार ३ सय ४१ जनाको निशुल्क नमुना परीक्षण भएको थियो ।
त्यस्तै ३९ हजार ५ सय २५ जनाको सशुल्क गरी जम्मा ४८ हजार ८ सय ६६ नमुना परीक्षण भएको ल्यावको व्यवस्थापन तर्फका स्वास्थ्यकर्मी ईन्द्रहरी भट्टराईले जानकारी दिए । कोटीहोमस्थित पीसीआर ल्यावमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ साथै मोरङको केही भागबाट समेत सङ्कलित नमुना परीक्षण भएको भट्टराईले जानकारी दिए । (आँखा न्यूज)