धरान । आफ्नो निजी जमिनमा धार्मिक प्रयोजनको निम्ति चर्च निर्माण भइरहेको अवस्थामा विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले व्यवधान खडा गर्न लागेको भन्दै ख्रीष्टिय समाज धरानले नगर प्रमुख हर्क साम्पाङ राईको ध्यानाकर्षण गराएको छ ।
धरान १४ स्थित दुईधारेमा नवनिर्मित होली ट्रिनिटी बिलिभर्स ईस्टर्न चर्च निर्माणको काम गर्न बञ्चित गराउने आसयले विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान नगर प्रमुखलाई पत्र बुझाएको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
२९ गते शुक्रबार धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै समाजले धार्मिक सद्भाव भड्कन सक्ने विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिको आरोपको खण्डन गरेको छ । समाजले भनेको छ– ‘इसाईहरुले न हिजो धार्मिक सद्भाव भड्काएको थियो, न आज भड्काएका छौं, न त भोलि भड्काउने छौं । हामीबाट यस्तो निकृष्ट कार्य कदापि हुनेछैन । धरानवासी दाजुभाइ तथा दिदीबहिनीमा प्रतिबद्धता जाहेर गर्दछौं ।’
नवनिर्मित चर्च भवन स्थानान्तर गरियोस् र धरान–१४ विजयपुर भरी कुनै चर्च बनाउन नपाउने विषय विजयपुर धार्मिक समितिले उल्लेख गरेकामा ख्रीष्टिय समाज स्तब्ध र आश्चर्यचकित भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । ‘नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक ’विविधतायुक्त विशेषता रहेको देश भनेर उल्लेख गरिएको छ।
नेपालको संविधान मौलिक हक सम्बन्धि भाग ३ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हक सम्बन्धि उपधारा १ ले धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनी धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ ।’
समाजद्वारा नगर प्रमुख साम्पाङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ । ‘नेपालको संविधानले प्रदत्त गरेको अधिकारलाई प्रयोग गरी सो स्थानको आफ्नो निजी जमिनमा धार्मिक प्रयोजनको निम्ति चर्च निर्माण गरिएको हो ।’ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त सुन्दर देशको रुपमा रहेको साथै धरान स्वयम् पूर्वको सुन्दर नगरी ‘बहुजन हिताय, बहुजन सुखाय’ को महानवाणीलाई आत्मसात गरेको नगर भएकाले अभूतपूर्व एकता र सद्भावको नमूना प्रदर्शन गर्नुपर्नेमा त्यसो हुन नसकेको ख्रीष्टिय समाज धरानका अध्यक्ष एल्डर गोविन्द राईले बताएका छन् ।
अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यो सुन्दर शहरमा एउटा मुस्लिम मर्दा अर्को हिन्दूको आँसु झर्छ, एउटा हिन्दुको विवाहमा अर्को क्रिश्चियन जन्ती जान्छ, एउटा क्रिश्चियनलाई अप्ठ्यारो पर्दा अर्को किरातले हातेमालो गर्छ, एउटा हिन्दूको आँखामा आँसु झर्दा अर्को बुद्धिष्टले आँसु पुछिदिन्छन्, । हो , यो शहर धार्मिक सहिष्णुता र सद्भाव छातीभरी बोकेर बाँचेको सहिष्णु शहर हो ।’ ख्रीष्टिय समाजले धरानमा सबै धर्म, जात, भाषा र संस्कृतिका रङ्गिबिरङ्गी फूलहरु फुल्नु पर्ने र आआफ्नो सुवासना छर्नुपर्ने उल्लेख गरेको छ । धरान–१४ स्थित इसाईहरुको धार्मिक स्थल चर्चलाई नेपालको संविधान २०७२ ले दिएको अधिकारको प्रत्याभूति र स्वतन्त्रता पूर्वक आफ्नो धार्मिक आस्था अनुसार धार्मिक कृयाकलाप गर्न कुनै प्रकारको बाधा अवरोध नहोस् भन्दै समाजले नगर प्रमुख राईलाई चर्चको सुरक्षाको माग गरेका छन् ।
समाजले सम्बन्धित पक्षहरुसंग शान्तिपूर्ण छलफलद्वारा समस्याको समाधान निकाल्न ख्रीष्टिय समाज धरान तत्पर रहेकोसमेत जानकारी गराएको छ । अन्तर धार्मिक शान्ति सञ्जाललाई ध्यानाकर्षण पत्रको बोधार्थ दिएको छ । ध्यानाकर्षण– पत्र बुझ्दै नगर प्रमुख राईले आईतबार दिउँसो १ बजे नगर प्रमुखको कार्यालयमा उवै पक्षको संयुक्त छलफल राख्ने प्रतिबद्धता जनाएका छन् ।
(साभार : ब्लाष्ट खबरबाट)